माओवादी केन्द्रको अगुवाइमा हेर्ने कथाका ‘प्रकाश तामाङ’को घर निर्माण थालियो

माओवादी केन्द्रको अगुवाइमा हेर्ने कथाका ‘प्रकाश तामाङ’को घर निर्माण थालियो

भोजपुर : युट्युब च्यानल ‘हेर्ने कथा’को ‘हराएका वर्षहरु’का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ। प्रकाशको घर बनाउन बुधबार शिलान्यास गरियो। 
    
भोजपुरको षडानन्द नगरपालिका-१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा शिलान्यास गरे। 

गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिए। करिब १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि माओवादी केन्द्रको अगुवाइमा घर बन्न लागेको हो। 

उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ। 

घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ। लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द-१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आएका थिए। 

आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताए।  

भदौ १९, २०८१ बिहीबार १५:१४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।