सन् २०२३ को 'अणुव्रत पुरस्कार' उद्योगपति रतन टाटालाई

सन् २०२३ को 'अणुव्रत पुरस्कार' उद्योगपति रतन टाटालाई

काठमाडौं : सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित 'अणुव्रत पुरस्कार' प्रसिद्ध उद्योगपति तथा समाजसेवी रतन टाटा लाई प्रदान गरिएको छ। एक कार्यक्रमकाबीच उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो।

अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई १ लाख ५१ हजार भारतीय रुपैयाँको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ। 

उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमंत्री मनोज सिंघवी उपस्थित थिए।

अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटा लाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै उनले मानव जातिमा गरेको सकारात्मक योगदानको प्रशंसा गर्दै विश्वमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै सम्पूर्ण अणुविभा परिवारको तर्फबाट बधाई दिए। 

अणुव्रत आन्दोलनले विगत ७५ वर्षदेखि मानव एकता, नैतिकता, अहिंसा र सद्भावनाको क्षेत्रमा कार्य गर्दै आएको छ। आचार्य श्री तुलसीले शुरू गरेको यो आन्दोलनले संयुक्त राष्ट्रसंघमा समेत आफ्नो विशेष पहिचान बनाएको छ। 

अणुव्रत पुरस्कारको श्रृङखलामा आत्माराम, जैनेन्द्र कुमार, शिवाजी भावे, शिवराज पाटिल, नितिश कुमार, डा एपीजे अब्दुल कलाम, डा मनमोहन सिंह, टीएन शेषन, प्रकाश आमटे लगायत प्रतिष्ठित व्यक्तिहरूलाई सम्मानित गरिएको छ।

कार्यक्रममा टाटालाई अणुव्रतका विभिन्न कार्यक्रमहरू जस्तै चुनाव शुद्धि अभियान, अणुव्रत डिजिटल डिटक्स, एलिभेट, पर्यावरण जागरूकता अभियान, नशामुक्ति अभियान, जीवन विज्ञान आदिका बारेमा जानकारी गराए। 

अनुव्रत सुरू भएको ७० बर्षदेखि यसको समिति नेपालमा पनि सञ्चालन रहेको छ। यसको अध्यक्षामा पूर्वप्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालसमेत रहिसकेका छन्। 

अनुव्रत समिति मार्फत यसको नियम नसा मुक्ति, साम्प्रदायीक सौहाद्रताको लागी एवं अनेक प्रकारका मानवीय कल्याण हुने व्रतहरुको लागी यो अभियान नेपालको मेचीदेखि महाकालीसम्म सञ्चालनमा रहेको छ। 

भदौ १९, २०८१ बिहीबार १४:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।