जनयुद्धका बेला मारिएका सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद छ : प्रचण्ड

जनयुद्धका बेला मारिएका सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद रहेको भन्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन्। 

बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकरुपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए। 

उनले भने, ‘आउने केन्द्रीय समितिको बैठकमा सहिदहरूलाई सम्मान गर्नेबारे एकरुपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु। सहिदहरूका बारेमा विभेद गर्नुहुँदैन भनेर जनयुद्धका बेला मारिनुभएकाहरुका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै सहिदहरूलाई एकमुस्ट रुपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुन्छ।’ 

पार्टीले जनयुद्धमा मारिएका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भएपनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ।
 
‘यसका लागि पार्टीले फागुन १४ देखि २१ सम्म सहिद सप्ताहका रुपमा मनाउने भनेका थियौं। मनाउँदै आएका पनि छौं। शान्ति प्रक्रियामा आएपछि यसमा केही बद्लाव जस्तो देखा परेको छ। कतिका नाममा प्रतिष्ठानहरू बनेका छन्, कतिका नाममा छैनन्। यसले राम्रो गरेको जस्तो लागेको छैन,’ उनले भने।  

भदौ १९, २०८१ बिहीबार १४:३५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।