युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने चार जना पक्राउ

युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने चार जना पक्राउ

काठमाडौं : क्लब एवं हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन्।

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो।

साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ २०, २०८१ बिहीबार १२:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।