ओलीलाई प्रचण्डको जवाफ- ‘जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्’

ओलीलाई प्रचण्डको जवाफ- ‘जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

सहिदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

संविधानमा भएको कुरा छाती खोलेर भन्न सक्नुपर्नेमा किन हिचकिचाएको भन्दै उनले प्रश्नसमेत गरे।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काएका छन्।

उनले भनेका छन्, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले। अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्।’

भदौ १९ गते बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताएका थिए।

‘प्रचण्डले छुरा तिखारेर बसेका थिए। तर मैले एक राउण्ड किक् दिएको हो’, ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भनेका थिए।

भदौ १९, २०८१ बिहीबार ११:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।