जनयुद्धलाई राष्ट्रिय दिवस भन्न अदालतले पनि अब रोक्नुपर्दैन : अध्यक्ष प्रचण्ड

जनयुद्धलाई राष्ट्रिय दिवस भन्न अदालतले पनि अब रोक्नुपर्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे माओवादी ‘जनयुद्ध’लाई राष्ट्रिय दिवस भन्न रोक्न नहुने बताएका छन्।

बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टीआरसी विधेयक पारित भएर ऐन बनिसकेको सन्दर्भमा अब अदालतले रोक्न नहुनेमा जोड दिए।

आफू प्रधानमन्त्री हुँदा अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्बाट फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाएर सार्वजनिक बिदा दिने निर्णय गरेका थिए। तर, सर्वोच्च अदालतमा रिट परेपछि अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको तर्कका आधारमा निर्णय कार्यान्वयन गर्न रोक लगाएको थियो।

उनले भने, ‘सबैलाई त्यसलाई राष्ट्रिय दिवस भनिसकेको र सरकारले निर्णय रिसकेको हुनाले अदालतबाट के अपेक्षा गर्छौँ भने अब टीआरसी विधेयक पारित भइसकेको स्थितिमा जनयुद्धलाई राष्ट्रिय दिवस भन्नेकुरा रोकिराख्न पर्र्दैन भन्ने आवाज उठाउन पनि जरुरी छ।’

अदालतले टीआरसी विधेयकलाई नै बढी महत्वका साथ हेरेको भन्दै उनले अब त्यसको अल्झो पनि बाँकी नरहेको बताए।

उनले थपे, ‘अदालतले टीआरसीलाई बढी हेरेको मैले बुझेको छु। टीआरसी विधेयक पारित भइसकेपछि प्रक्रिया त अगाडि गयो।’

अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पास हुनु र ‘जनयुद्ध’ राष्ट्रिय दिवस घोषणा हुने सहिदहरूका लागि पार्टी र सरकारले गरेको उचित सम्मान भएको बताउँदै यसलाई जनता र सहिद परिवारसम्म पुर्याउन समेत उनले पार्टी पंक्तिलाई निर्देशन दिए।

फरक प्रसङ्गमा उनले एकरूपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए। पार्टीले जनयुद्धमा मारिनुभएका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ।

भदौ १९, २०८१ बिहीबार ११:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।