ओली-बालेन फेसबुक शक्ति परीक्षण : प्रधानमन्त्री ओलीको ‘साइबर सेना’माथि मेयरको ‘बालेन सेना’ हाबी

ओली-बालेन फेसबुक शक्ति परीक्षण : प्रधानमन्त्री ओलीको ‘साइबर सेना’माथि मेयरको ‘बालेन सेना’ हाबी

काठमाडौं : गएको सोमबार साँझबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घटिरहेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एमाले प्रदेश सांसदबारे गरेको फेसबुक पोस्ट अत्यधिक रिपोर्टपछि डिलिट भएको दाबी गरेपछि एकाएक ओलीलाई अनफलो गर्ने अभियान शुरू भयो। सोमबारदेखि बुधबारसम्म ओलीको फेसबुक पेजमा ५० हजार हाराहारी फलोअर्स घटेको देखिन्छ।

ओलीको फलोअर्स घटाउन फेसबुकमा अभियान नै चलाइएको छ।  त्यसको नेतृत्व बालेन समर्थकले गरिरहेका देखिन्छन्। अहिले फेसबुक हेर्दा लाग्छ, बालेन भर्सेस ओलीका समर्थकबीच वार चलिरहेको छ। ओलीका प्रशंसकमाथि बालेनका प्रशंसकहरू हावी भएका छन्।

जसरी ओलीको फलोअर्स घटेका छन् उता बालेनको फलोअर्स भने बढेको देखिन्छ। सोमबारदेखि शुरू भएको अनफलो अभियान बुधबारसम्म आइपुग्दा बालेनको फेसबुक फलोअर्स २८ हजार हाराहारीमा बढेका छन्। ओलीको ४० हजार बढी घटेका छन्।

यो वाकयुद्धको सुरुवात बालेनको एउटा फेसबुक स्टाटसबाट भएको देखिन्छ। स्टाटसमा बालेनले एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले १४ वर्षीया बालिकालाई आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको भन्दै उनलाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए।

सांसद शर्माको काठमाडौंस्थित घरमा ती बालिकालाई आठ वर्षदेखि बाल श्रमिकका रूपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो।

त्यसपछि बालेनले सांसद शर्माको फोटो राख्दै फेसबुकमा लेखेका थिए, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ।’ 

एकाएक फेसबुकले सो पोस्ट हटायो। आफ्नो फेसबुक पोस्ट डिलिट भएपछि बालेनले लेखे, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ।’

त्यसपछि झन् उग्र भएर बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाए। अहिले उनीहरूले बालेनको प्रशंसा गर्दै ओलीमाथि आक्रमण गरिरहेका छन्। 

बालेन समर्थकको अनफलो अभियानबाट पार्टी सभापती तथा प्रधानमन्त्री ‌ओलीलाई बचाउन एमाले महासचिव शंकर पोखरेल नै डिजिटल मैदानमा उत्रिए।  बुधबार बिहान  फेसबुकमा उनले ओलीको पेज सेयर गरेका थिए। मंगलबारको तुलनामा बुधबार ओलीलाई अनफलो गर्नेक्रम केही घटेको देखिन्छ। मंगलबार २५ हजार नौ सयले अनफलो गरेकोमा बुधबार १७ हजारले अनफलो गरेका छन्। तर, अनफलो गर्ने क्रम भने रोकिएको छैन।

फेसबुकमा अनफलो ट्रेन्ड बालेनको स्टाटस डिलेटपछि सुरू भएको देखिए पनि यसको सुरुवात  केही दिनअघि  प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई टुँडिखेलमा केही युवाले गरेको नाराबाजीको घटनाक्रमले मलजल गरेको देखिन्छ।

नाराबाजी गर्नेहरूमध्येबाट दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि आक्रोशित एक समूहले ओलीको फेसबुक पेज अनफलो गरेर सांकेतिक विरोध गरेको देखिन्छ। त्यसमा बालेन समर्थक पनि मिसिएर यसलाई गति दिए।

ओली आफैँले सुरू गरेका थिए ‘साइबर सेना’को चलन 
२०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीले त्यसपछि तीन वर्ष बढी सरकारको नेतृत्व गरे। झन्डै दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले आफ्नो कार्यकालमा उखान-टुक्का मिसाएर भाषण गर्थे, जुन धेरै युवा पंक्तिले मन पराए पनि।

युवापंक्तिसँग भेट्दा त्यही किसिमको व्यवहार गर्ने, फुटबल खेलाडीसँग भेट्दा फुटबल खेलिदिने, गिटारिस्टसँग भेट्दा गितार बजाइहाल्ने अनि यसैगरी जोसँग भेट्यो त्यस्तै बनिदिने र त्यही रुझ्ने किसिमको ओलीको ब्यबहारबाट धेरै प्रभावित देखिए।

तर, यी सबै व्यक्तिगत गुणहरू आकर्षक भएपनि प्रधानमन्त्रीका रूपमा ओली आलोचनालाई सहज लिने स्वभावका हैनन्। प्रशंसा प्रिय उनको स्वभावै हो। त्यो समयमा एमालेविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक धारणा बढ्दै थियो। अनि ओली आफ्ना कार्यकर्तालाई ‘एमालेविरुद्ध लाग्नेहरूलाई अरिङ्गाल बनेर ध्वस्त पार्न’ निर्देशन दिन्थे।

सरकारको आलोचना हुन थालेपछि उनले ०७५ असोज २ मा ललितपुरमा युवा संघको एक कार्यक्रममा उनले अरिङ्गाल बनेर जाइलाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए। ओलीको निर्देशनमा एमाले नेता महेश बस्नेतले ‘साइबर सेना’ गठन गरेको घोषणा गरेका थिए।

तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा संकट चुलिएपछि ०७७ पुष ५ मा संसद विघटन गरिदिए ओलीले। त्यसपछि ओलीको समर्थन घट्दै गयो। त्यसबेला नेकपाको आन्तरिक किचलोकै कारण प्रधानमन्त्री ओलीले संसद् विघटन गरिदिएको भन्दै सबैजसो राजनीतिक दल, नागरिक अगुवा, लेखक, कलाकारले विरोध गरेका थिए। 

र, नेकपा विभाजनपछि ओली समूहका नेता बस्नेतले ‘साइबर सेना’ बन्ने/बनाउने घोषणा गरेका थिए। त्यसको काम भनेको सामाजिक सञ्जाललाई कन्ट्रोल गर्ने, साइबर क्राइमको मुद्दा हाल्ने, राज्यको साइबर ब्यूरोलाई सहयोग गर्ने, कसैको टाउको कसैको घाँटीमा जोड्ने जस्ता कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने भनिएको थियो।

‘अब बन्दुक बोक्नु पर्दैन, साइबर सेना बनाएर फेसबुक चलाउनुहोस्, मिडियामा लेख्नुहोस्, प्रतिवाद गर्नुहोस्। प्रतिरोध गर्नुहोस्,’ बस्नेतले ललितपुरको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘कम्युनिष्ट आन्दोलनमाथि हमला गरेको हुनाले त्यसलाई जोगाउन, जनतामा गएको भ्रम रोक्न साइबर सेना बनाउन लागेका हौँ।’  

त्यसपछि ओलीका समर्थकले सामाजिक सञ्जालमा ओलीका आलोचकप्रति असहिष्णु टिप्पणी गर्न थाले। पत्रकार, सम्पादक र आलोचकलाई व्यक्तिगत तहमै ओर्लेर टिप्पणी गर्न ओली समर्थक सामाजिक सञ्जालमा सक्रिय भए। त्यसमा एमालेमा आवद्द परिचित नेताहरु समेत देखिए।

ओलीका साइबर सेनाको सक्रियतापछि नेताहरूले सार्वजनिक मञ्चबाट आलोचना गरेका थिए। संसद विघटनपछि भृकुटीमण्डमा आयोजित विरोध सभामा नेता घनश्याम भुसालले भनेका थिए, ‘कमरेड ओली तपाईंसँग अब के शक्ति बाँकी छ, तपाईंले बनाएको साइबर सेना भनिने साइबर स्याल बाँकी छ, तपाईंले आफूलाई त्यसको नेताका रूपमा प्रस्तुत गर्नु भएको छ।’

घनश्यामले यस्तो भाषण गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीको पक्षमा सामाजिक सञ्जालमा लेख्ने बोल्ने र अभिव्यक्त गर्ने नेता कार्यकर्तालाई ‘साइबर स्याल’को उपमा पाए।

त्यसअघि भीम रावलले आफूलाई ओलीका ‘साइबर सेना’ले बदनाम गराउन खोजेको अभिव्यक्ति दिए। अनि केही समयपछि माधव नेपालले भनेका थिए, ‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो। ओलीका साइबर स्यालहरू अहिले पनि ज्यूँदै रहेछन्। बाँचिरहेका रहेछन्। हिजो मात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ। होसियार!’

त्यसबेला ती साइबर सेनालाई भारतीय जनता पार्टी (भाजपा) ले ह्वाट्सएप ग्रुपसँग तुलना गरिएको थियो। सन् २०१८ मा पार्टीका स्वयंसेवकहरूलाई सम्बोधन गर्ने क्रममा भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष अमित साहले पार्टीको ह्वाट्सएपको ग्रुपमा ३२ लाखभन्दा धेरै मानिस आबद्ध रहेको भन्दै पार्टीले चाहे गलत समाचार पनि भाइरल बनाउन सक्ने दाबी गरेका थिए।

उनका अनुसार उत्तर प्रदेशमा मात्र भाजपाका सामाजिक कार्यकर्ताको संख्या १५ र १७ लाख रहेको दुई ह्वाट्सएप ग्रुप छ। उनीहरूले चाहेको बेला जुनसुकै समाचारलाई भाइरल बनाउनसक्ने मात्र होइन, चुनावका बेला माहौल बनाउने, पार्टी नेतृत्वको सामाजिक सञ्जालमा बचाउ गर्ने कामहरू गर्न सक्नेछन्। नेपालमा पनि त्यसैको प्रभाव परेको धेरैले अनुमान गरेका थिए। 

त्यसो त अहिलेसम्म पनि फेसबुकमा ‘नेकपाको साइबर सेना’, ‘साइबर सेना’, ‘साइबर सेना एक हौँ’, ‘साइबर सेना कर्णाली प्रदेश’, ‘साइबर सेना जिन्दाबाद’ लगायतका पेज र समूह सक्रिय छन्। ओलीका तस्वीर राखेर बनाइएका यस्ता पेज, ग्रुप, आइडी र ह्याण्डलमा ओलीको समर्थन र विरोधी तथा आलोचकलाई गाली गरिएका पोस्टहरू टन्नै छन्। 

बालेन समूह पनि कम छैन

आफ्ना आलोचकलाई ट्रोल गराउन, नकारात्मक टिप्पणी गर्नेदेखि लिएर संगठित रूपमा अनफलो अभियान चलाउन माहिर छन् बालेन समूह पनि । बालेनको कोर टिममा संलग्नहरू अनेक नाममा मिम समूहदेखि समाचार समूहसम्म सञ्चालन गर्दै आएका छन्।

उनीहरूको सक्रियता बालेनको सामान्य गतिविधिलाई पनि भाइरल बनाउने र बालेनको गतिविधिको विपक्षमा कोही बोले वा कसैले केही लेखे संगठित आक्रमण गरेर ह्यारेसमेन्ट, बुलिङ गर्ने देखिन्छ। यस अगाडि बालेनको विपक्षमा भएका गतिविधिको प्रतिकार गर्न उनका प्रशंसकहरूले केही मिडियाविरुद्ध समेत संगठित रूपमा नै अनफलो अभियान चलाएका थिए।

अभियानको प्रभावले ती अनलाइन पोर्टलहरूको केही फलोअर्स घटेका पनि थिए। तर, त्यसले मिडिया हाउसलाई पाठक/दर्शक र स्रोतासम्म पुग्न नरोके पनि डिजिल दुनियामा फलोअर्सको बलमा ‘अलोकतान्त्रिक गतिविधी गर्नेहरू’ मानसिक त्रास बढाउन भने सफल भए।

कुनै समय एक अर्काका प्रशंसक रहेका ओली र बालेनका प्रशंसक अहिले सामाजिक सञ्जालमा एक अर्काविरुद्ध खनिएका छन्। यसको नतिजाका लागि केही समय पक्कै पर्खिनै पर्छ।

भदौ १८, २०८१ बुधबार २१:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।