सफलताले पलेशालाई दिलाएको राष्ट्रिय गौरव: नागरिकदेखि राष्ट्रपतिसम्मको सम्मान

सफलताले पलेशालाई दिलाएको राष्ट्रिय गौरव: नागरिकदेखि राष्ट्रपतिसम्मको सम्मान

काठमाडौँ : पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर स्वदेश फर्किएकी पलेसा गोबर्धन बुधवार दिनभर व्यस्त रहिन्। पेरिसमा आयोजित पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धामा पलेशाले नेपालको लागि ‌ओलम्पिकको पहिलो कांस्य पदक जितेकी थिइन्।

ऐतिहासिक सफलताको मेडल लगाएर उनी बुधवार काठमाडौँमा उत्रिएदेखि नै सम्मान र पुरस्कार कार्यक्रमले दिनभर दौडादौडमा परिन्। उनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमाको कार्यक्रम राखेको थियो।

उनलाई स्वागत गर्न र नगर परिक्रमामा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी उनीसँगै हिँडेका थिए। विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गियो।

उनले नेपालका खेलाडीहरू पनि ओलम्पिकमा पदक जित्न सक्षम छन् भन्ने प्रमाण आफू बन्न पाएकोमा खुसी व्यक्त गर्दै भनेकी थिइन् ‘अब नेपालसँग पनि ओलम्पिक पदक छ।’

नगर परिक्रमाको कार्यक्रम सकिए लगत्तै उनलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित आजै सम्मान गर्न चाहेको खबर आयो। त्यसपछि उनी प्रशिक्षक कविराज नेगी लामासहित महानगरको कार्यक्रमस्थलमा पुगिन्। मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोलसहित उनी र प्रशिक्षक लामाको प्रतीक्षामा थिए।

उनी  कार्यक्रमस्थलमा ट्रयाकमै पुगेकी थिइन्। उनी पुगे लगत्तै उनलाई मालासहित सम्मान गरियो अनि मेयर बालेन र उपमेयर सुनिताले पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँ प्रदान गरे। सामाजिक सञ्जाल उनको सफलतामा शुभकामना सन्देशले भरिइरहेका थिए। लगभग बुधवारको कार्यक्रम सकियो होला भन्ने थियो। पून राष्ट्रपति कार्यालय शीतल निवासबाट ‘पलेशा र उनको प्रशिक्षकलाई राष्ट्रपतीले सम्मान गर्न चाहेको सन्देश आयो।

राष्ट्रपति कार्यालय जान फर्म ड्रेस चाहिन्थ्यो। उनी फर्मल ड्रेससहित परिवारका सदस्यहरूको साथमा शीतल निवास पुग्दा राष्ट्रपति रामचन्द्र पौडेल टिमसहित उनको प्रतीक्षामा थिए। उनले फुल मालासहित पलेशालाई सम्मान गरेर बधाई दिँदै देशको शिर उँचो पार्ने काम गरेको भन्दै बधाईसँगै अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए।

पलेशाका लागि बुधवारको सम्मान र नगद पुरस्कारको कार्यक्रम सकियो। तर घोषणाकोक्रम भने सकिएको छैन। एनसेलले पलेशालाई १० लाख दिने घोषणा गरिसकेको छ। राष्ट्रिय खेलकुद परिषद् नियमावली अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य पदक जितेमा ६५ लाख नगद पुरस्कार रहेकाले उनले स्वतः सो रकम पाउने छिन्।

चीनको साङ्घाइमा आर्किटेक्चर इन्जिनियरिङ पढिरहेकी उनी सन् २००३ मा काठमाडौँमा बागबजारमा जन्मँदा जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन।

उनी तेक्वान्दोमा आकर्षित भइन्। उनले २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन्। त्यो बेलामा उनी पाँचौँ भएकी थिइन्।

सन् २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उ सातौँ स्थानमा रहिन्। सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा कांस्य पदक जितेकी उनले सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव मात्र बटुलिन्।

सन् २०२१ को एसियाली यूथ पारा गेम्समा पहिलो पटक स्वर्ण पदक जितेकी उनले सन् २०२४ मा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास रचिन्।

भदौ १९, २०८१ बुधबार २०:४१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।