रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु, साढे दुई वर्ष लामो युद्धको सबैभन्दा घातक आक्रमण

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु, साढे दुई वर्ष लामो युद्धको सबैभन्दा घातक आक्रमण

एजेन्सी : रूसले युक्रेनी सहर पोल्ताभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ। सयौँ घाइते भएको  अधिकारीहरूले बताए।

अधिकारीहरूका अनुसार यो आक्रमण दुई देश बीचको साढे दुई वर्षको युद्ध अवधिको सबैभन्दा घातक आक्रमण हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरे। रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन्। 

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताए।  

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन्। 

यसैबिच अमेरीकी राष्ट्रपति बाइडेनले किएभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गरे। 

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भनेका छन् भने जर्मन विदेश मन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताए। 

मङ्गोलियाको भ्रमणपछि मङ्गलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ।

पुटिनकोे मङ्गोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का सदस्यसँगको  पहिलो भ्रमण थियो।

भदौ १८, २०८१ बुधबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।