काठमाडौं महानगरपालिकाले पलेशालाई ५ लाख रूपैयाँसहित सम्मान गर्यो
काठमाडौं : काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरे।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो। यस्तै, पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरियो।
कार्यक्रममा बोल्दै बालेनले नेपालले गर्न सक्छ भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको बताए।
उनले भने, ‘कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ। सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ।’
पलेशाका मातापिताको योगदानका कुरा गर्दै उनले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरे।
त्यसक्रममा उपप्रमुख डंगोलले पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा व्यक्त गरिन्।
छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन्।
पलेशाले भनिन्, ‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो। यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सके।’
भदौ १८, २०८१ बुधबार १७:३७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।