कांग्रेस-एमाले जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नैपर्छ : देउवा

कांग्रेस-एमाले जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नैपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताए। 

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन। कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला। जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ। कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन।’

उनले निर्वाचित सरकारले बनाएका नीति नियमहरू कार्यान्वयन गर्ने काम निजामती कर्मचारीहरूको रहेकोले निर्वाचित सरकार र निजामती कर्मचारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए। 

उनले भने, ‘निजामती  कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ। निर्वाचित सरकार अस्थायी सरकार र निजामती कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ। निजामती कर्मचारीहरू अवकाश नहुञ्जेलसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ। जित्यो भने रहने हार्यो भने जाने। नीति नियमहरू एकीकृत निर्वाचित सरकारले बनाउने हो। त्यसको कार्यान्वयन गर्ने काम निजामती कर्मचारीहरूको हो।’

भदौ १८, २०८१ बुधबार १५:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।