तीन हजार विद्यार्थीको नतिजा हेरफेर भएपछि माइतीघरमा विरोध प्रदर्शन

तीन हजार विद्यार्थीको नतिजा हेरफेर भएपछि माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं : चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

आयोगको प्रवेश परीक्षा दिएका विद्यार्थीहरूले बुधबार राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरे।

रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरूको भविष्यसँग खेलबाट गर्न नपाइने भनेका छन्।

पहिलो रिजल्ट आउँदा आफ्नो नाम भए पनि दोस्रो पटक प्रकाशित हुँदा आफ्नो नाम हराएकी एक परीक्षार्थीले उत्तर पुस्तिका र ओएमआर सिट देखाउमा माग गरिन्।

ती परीक्षार्थीले भनिन्, ‘पहिलो रिजल्टमा मेरो नाम थियो, नयाँमा त छैन त! कहाँ गयो? त्यसका लागि पनि एन्सर की र ओएमआर सिट देखाउनुपर्छ।’

यस विषयमा बुधबारको प्रतिनिधि सभा बैठकमा पूर्व शिक्षमन्त्रीद्वय देवेन्द्र पौडेल र सुमना श्रेष्ठ लगायतका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले हजारौं विद्यार्थीको भविष्यमाथि मजाक र खेलबाड नगर्न समेत चिकित्सा शिक्षा आयोग र सरकालाई चेतावनी समेत दिए। 

भदौ १८, २०८१ बुधबार १४:०४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।