माओवादीले भन्यो- सरकार पुँजीपति, विचौलिया र माफियाको पक्षमा छ

माओवादीले भन्यो- सरकार पुँजीपति, विचौलिया र माफियाको पक्षमा छ

काठमाडौं : माओवादी केन्द्रले सरकार दलाल पुँजीपति, विचौलिया र माफियाहरुको पक्षमा रहेको आरोप लगाएको छ।

बुधबार सम्पन्न पार्टीको अनुशासन, निर्वाचन र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्।

विद्युत् महसुलको सन्दर्भमा सरकारले देखाएको रबैयाले यसलाई प्रमाणित गर्ने उनको भनाइ छ। सरकारले विद्युत् महसुल उठाउन खोज्नेलाई कारबाहीको डन्डा चलाएर छोटो समयमै आफ्नो छवि जनतासामू प्रष्ट देखाएको बताए।

‘विद्युत् महसुल नतिरे पनि हुन्छ भनेर लाइन काटिएको थियो नि, लाइन काटिएकाहरूलाई नै कारबाहीको लागि सिफारिस गरेको छ,’ उनले भने, ‘थोरै दिनको शासनको मात्र पनि सरकार जनताको पक्षमा नभई दलाल पुँजीपति, विचौलिया र माफियाहरूको पक्षमा छ भन्ने देखिएको छ।’

प्रवक्ता सापकोटाले संविधान, विस्तृत शान्ति सम्झौता र एमाले-माओवादी एकताको डकुमेन्टमा समेत ‘सशस्त्र संघर्ष’ लेखिएको स्मरण गर्दै उनले प्रधानमन्त्री र एमालेका सांसदहरुले संसदमा ‘माओवादी हिंसा’ भन्नु संविधानविपरीत हुने बताए।

साथै उनले माओवादीका सांसदहरुले संसदमा त्यसको प्रतिकार गरेको समेत बताए।

भदौ १८, २०८१ बुधबार १३:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।