नेपाल शक्ति राष्ट्रहरूको टक्करको इपिसेन्टर बन्दैछ : अध्यक्ष प्रचण्ड

नेपाल शक्ति राष्ट्रहरूको टक्करको इपिसेन्टर बन्दैछ : अध्यक्ष प्रचण्ड
फाइल तस्बिर

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शक्ति राष्ट्रहरूबीचको टक्करको इपिसेन्टर बन्दै गरेको बताएका छन्।

पार्टीको अनुशासन, निर्वाचन र लेखा आयोगको बैठक समापन कार्यक्रममा अध्यक्ष दाहालले शक्ति राष्ट्रहरू र भूराजनीतिक टक्करको असर र प्रभावको इपिसेन्टर नेपाल बन्दै गरेको बताएको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

‘विश्व परिस्थिति विरोधभाषले ग्रस्त अनि अस्तव्यस्त हुँदैछ। शक्ति राष्ट्रहरूबीच द्वन्द्व चर्किँदैछ। मध्यपूर्व त विस्फोटक स्थितिमा पुग्दैछ,’ प्रचण्डको भनाय उद्धृद गर्दै सापकोटाले भने, ‘शक्ति राष्ट्रहरू र भूराजनीतिक टक्करको असर र प्रभावको इपिसेन्ट नेपाल बन्दैछ।’

प्रचण्डले वर्तमान सरकारको रबैयाप्रति जनता असन्तुष्टि बढेको भन्दै संसदको सबै प्रतिपक्षलाई समाहित गर्दै आफूहरूको शक्तिलाई पनि प्रभावकारी बनाउनेतर्फ जोड दिनुपर्ने बताए। आफू सरकारमा हुँदा चलेको भ्रष्टाचारविरुद्धको अभियान अहिले रोकिएको भन्दै उनले भ्रष्टाचार आरोपीहरूलाई जोगाउन सरकार लागिरहेको समेत आरोप लगाए।

अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय व्यवस्थामा लान खोज्दा त्यसले अधिनायकता भित्रिने दाबी गर्दै त्यसलाई रोक्न जनतालाई सुसुचित र प्रशिक्षित गनुपर्नेमा पनि जोड दिए।

साथै उनले संविधान संशोधन माओवादीले पनि चाहेका उल्लेख गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपाति निर्वाचन प्रणाली लागू गर्ने गरी संविधान संशोधन गर्न आफूले नै प्रस्ताव गरेको पनि जानकारी गराए।

‘संविधान संशोधनको निकै चर्चा भएको छ। संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली लागू गरिनुपर्छ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्छ। जनताको अधिकार कटौती गरिन्छ भने हामीले सशक्त प्रतिवाद गर्दछौं।’

१२२ स्थानीय सरकारमा माओवादीले नेतृत्व गरिरहेको भन्दै उनले त्यहाँबाट रोजगारीको सिर्जना गर्ने अभियानमा आफूहरू लाग्ने समेत प्रतिबद्धता जनाए।

भदौ १८, २०८१ बुधबार १३:१४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।