पलेशाले भनिन्- अब हामी गर्वको साथ भन्न सक्छौँ, हामीसँग पनि ओलम्पिक मेडल छ

पलेशाले भनिन्- अब हामी गर्वको साथ भन्न सक्छौँ, हामीसँग पनि ओलम्पिक मेडल छ

काठमाडौं : पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न पाउने बताएकी छन्।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैले पलेशाले मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताइन्।

उनले भनिन्, ‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिइन कि आज मेडल हात मार्न सक्छु भनेर, सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु। यो मेडल मेरो मात्र होईन सबैको हो। अब हामी गर्वको साथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ।’

विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो। पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पुर्याएर स्वागत गरिएको हो।

भदौ १८, २०८१ बुधबार १२:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।