इजरायली बन्धकहरूलाई कफिनमा पठाउने हमासको धम्की

इजरायली बन्धकहरूलाई कफिनमा पठाउने हमासको धम्की

एजेन्सी : गाजामा इजरायली बन्धकहरूको शव फेला परेपछि हमासले बाँकी बन्धकहरूलाई कफिनमा राखेर पठाउने धम्की दिएको छ।

सेनाले दबाब दिन नछाडेमा बन्धकहरूलाई कफिनमा राखेर इजरायल पठाउने भन्दै आफ्ना लडाकुहरूलाई आदेश दिइसकेको बताएको हो।

कासिम ब्रिगेडका प्रवक्ता अबु उबैदाले इजरायली प्रधानमन्त्री नेतन्याहुले कुनै सम्झौताविना सैन्य दबाब निरन्तर कायम राखेर बन्धकहरूलाई मुक्त गर्ने प्रयास गरे कफिनमा फिर्ता गर्ने चेतावनी दिएको अल जजीराले लेखेको छ।

साथै उनले बन्धकका परिवारलाई समेत प्रभावित बनाउँदै उनले भनेका छन्, ‘अब निर्णय गर्ने अधिकार परिवारको हातमा छ– बन्धकहरूलाई जिउँदै फर्काउने कि शव।’

हमासले बन्धकहरुको मृत्युमा नेतान्याहु र उनको सेना जिम्मेवार रहेको बताएको छ।

हमासको सुरुङमा भेटिएका ६ जना बन्धकहरूलाई टाउकोमा पछाडिबाट गोली लागेको नेतान्याहुले बताएका छन्। इजरायली प्रधानमन्त्रीले बन्धकहरूलाई जीवित फिर्ता ल्याउन असफल भएकोमा देशसँग माफी मागेका छन्।

उनले भनेका छन्, ‘हामी धेरै नजिक भयौँ, तर असफल रह्यौँ। हमासले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।’

हमासले जम्मा २५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो। तीमध्ये ९७ जना अझै हमासको बन्दीमा छन्।

गत वर्ष नोभेम्बरमा भएको युद्धविराममा १०५ बन्धकहरूलाई रिहा गरिएको थियो भने यसबीचमा करिब ३३ जनाको मृत्यु भइसकेको छ।

सेप्टेम्बर १ मा बन्धकहरूको शव फेला परेपछि इजरायली जनता आक्रोशित भएर पाँच लाख मानिस प्रदर्शनमा उत्रिएका थिए।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार राजधानी तेल अवीवमा तीन लाखभन्दा बढी र अन्य शहरमा दुई लाखभन्दा बढी मानिस भेला भएका थिए।

भदौ १८, २०८१ बुधबार ११:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।