एनसेलले पलेशालाई १० लाख पुरस्कारसहित सम्मान गर्ने

एनसेलले पलेशालाई १० लाख पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं : एनसेलले पेरिसमा भएको पारालिम्पिक्स २०२४ मा नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो। एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो।’

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो। यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।

भदौ १९, २०८१ बुधबार ०८:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।