विद्यालय शिक्षा विधेयकका संशोधनकर्तासँग छलफल गर्न शिक्षा समितिको बैठक बस्दै

विद्यालय शिक्षा विधेयकका संशोधनकर्तासँग छलफल गर्न शिक्षा समितिको बैठक बस्दै

काठमाडौं : विद्यालय शिक्षा विधेयकका संशोधनकर्तासँग छलफल गर्न आज संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिक समितिको बैठक बस्दैछ।

बैठक संसदीय समितिको कार्यालय सिंहदरबारमा विहान ११ बजे बस्नेछ। आजको बैठकमा १५ देखि २० जना संशोधनकर्तासँग छफफल हुनसक्ने समिति उपसचिव पुष्पप्रकाश खनालले उकेरालाई जानकारी दिए।

डेढ सयभन्दा बढीले संशोधन प्रस्ताव पेश गरेकोमा अझै ५४ जनाले संशोधनकर्तासँग छलफल गर्न बाँकी रहेको उनको भनाइ छ।

लामो समय समितिमा रहेकाले यसलाई टुंग्याउनका लागि भनेर छलफल भइरहेको छ। यसपछि अर्को एक पटक बैठक बसेर संशोधनकर्ताहरूसँगको छलफल हुने उनले जानकारी दिए।

यसबाहेक आज कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दैछ।

संसदीय सुनुवाइ समितिको बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ भने कानून, न्याय तथा मानवअधिकार समितिको विहान ११ बजे बस्ने बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो दुई बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०८०/८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल संघीय संसद सचिवालयले जनाएको छ।

भदौ १८, २०८१ बुधबार ०७:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।