पलेशालाई विमानस्थलबाट त्रिपुरेश्वरसम्म नगर परिक्रमा गराइने, यस्तो छ रुट
काठमाडौं : पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा नगर परिक्रमा गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्न लागेको हो।
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।
यो पदकले नेपाली खेलकुदमा नयाँ इतिहास कायम गरेको छ। पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन्।
बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। उनलाई विमानस्थलमै राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारीले स्वागत गरेपछि साढे ८ बजेबाट नगर परिक्रमा शुरू गरिनेछ।
नगर परिक्रमा विमानस्थलबाट शुरू भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिनेछ।
नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झण्डा सहितको विशेष गाडीमा सवार गराइने छ। नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ।
भदौ १९, २०८१ बुधबार ०७:१५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।