भारतमा बलात्कारीलाई फाँसीदिने कानुन अनि नेपालमा पूजा शर्माको ‘शत्रु सूत्र’

भारतमा बलात्कारीलाई फाँसीदिने कानुन अनि नेपालमा पूजा शर्माको ‘शत्रु सूत्र’

काठमाडौँ : वास्तविक जीवनमै दुर्घटनाको संयोगले भरिएको फिल्म रावायणको प्रचारमा गरेको पूजा शर्माको मिहेनतमाथि गायिका समीक्षा अधिकारीको एकै प्रतिक्रियाले संकट ल्याएपछि फिल्मको निर्मात्री समेत रहेकी उनले फेसबुकमा आफ्नो फिल्म रिलिज हुन लागेको बेलामा शत्रु लागेको प्रतिक्रिया लेखिन्।

फिल्मको प्रचारकोक्रममा उनले पल शाहमाथिको बलात्कारको मुद्दा प्रक्रियाबारे बोल्दै एक कार्यक्रममा पलले 'अदालतबाट सफाइ पाइसकेकाले कसैले बोल्न आवश्यक नभएको' प्रतिक्रिया दिएकी थिइन्। पल सुपरस्टार भएकाले पछि लागेको उनको तर्क थियो।

उच्च अदालतबाट पलले पाएको सफाइको फैसला सर्वोच्च अदालतमा ब्युँतिएकोबारे भने उनले बोलिनन्। सायद सर्वोच्चले सुनुवाइ अगाडि बढाउन दिएको आदेशबारे उनलाई जानकारी नहोला पनि।

संयोग, नाबालिग बलात्कारको आरोपमा पललाई प्रहरीले खोजी रहँदा पनि पूजा र पलको अभिनय रहेको फिल्म रिलिज हुने चरणमा थियो। पल प्रहरी हिरासतमा जाँदा पूजाले फिल्मको प्रचारका लागि पलको नाम राम्रै प्रयोग गरेकी थिइन् पनि।

'रावायण'मा अनमोल केसीले अभिनय नगरेर छाडेपछि पल भित्रिए। पल भित्रिएसँगै उनीमाथि लागेको नाबालिग बलात्कारको मुद्दा ब्युँतिने नै भयो। ब्युँतियो। त्यसमा फिल्मको कथावस्तुभन्दा पनि पलको सर्वोच्चमा ब्युँतिएको मुद्दाबारे न्यायाधीशको शैलीमा अब कोही बोल्न आवश्यकै छैन भनेर बोलेपछि समीक्षाले फेसबुकमा ‘यसरी पीडा नदिनुस् प्लिज’ भन्दै लेखिन्।

फिल्म रिलिजको मुखैमा पलसँगै फिल्मको छविमा समेत नकारात्मक असर परेपछि पूजा मौन कसरी बसुन्। सँगै अभिनय गर्दा त मौन नबसी पलको पक्षमा खुल्ला भएकी उनी, अहिले त फिल्ममा लगानी नै उनको।

अनि उनले समीक्षाको नाम नलेखी गायिका बहिनी भन्दै लेखिन् ‘आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन् त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ..!’

उनले लेखिन् ‘यो विषमा म नबोलूँ भनेको र बोल्न आवश्यक पनि ठान्थिन; तर यसरी मेरो मुभी आउनुभन्दा २/४ दिन अगाडि मलाई टार्गेट गरिन्छ भने; म पनि बाध्य भएर बोले…’

उनले मिडियामा आएका आफ्ना सबै सामाग्रीहरू नितान्त व्यवसायीक हुन् भनेकी छिन्।

‘मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला… त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु…!’ उनले लेखिन्।

एक चिकित्सकको बलात्कारपछि अस्पतालमै हत्या भएको घटनाले अहिले भारतको समाज उद्वेलित छ। चिकित्सकदेखि प्राध्यापकसम्म सडकमा उत्रिए। निरन्तर खबरदारीपछि पश्चिम बङ्गाल सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित गर्यो।

भारतमा नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लाग्दा मात्र पनि उनको फिल्मी करिअरै धरापमा पर्यो। उनी अभिनयमा फर्कनै सकेनन्। समाजले उनलाई अभिनेता स्वीकार गरेको थियो। गम्भीर आरोपपछि समाजको नजर बदलियो।

तर नेपालमा, अझ विशेष समाजका रोल मोडल मानिनेहरू नै नाबालिग बलात्कार जस्तो गम्भीर अपराधमा विभाजित भए, भइरहेका छन्। सर्भाइवरहरले आफूमाथि भइरहेको पीडा पोख्दा कसैबाट शत्रुको उपमा पाइरहेका छन्।

पलले उच्चबाट सफाई पाए। तर उच्चको फैसला त्रुटीपूर्ण भन्दै गत मंसीर २२ सर्वोच्चले मुद्दा  दोहोर्याएर हेर्न अनुमति दियो। आदेशमा पीडित नाबालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको वकपत्र, पीडित र प्रतिवादी बीचको अडिओ रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी आदेश भएको उल्लेख छ। अर्थात पलको केस सर्वोच्चमा विचाराधीन छ।

सर्वोच्चले सुनुवाइ उल्टाएको मुद्दाबारे कुनै फिल्मकी निर्मात्रीले ‘योबारे कसैले बोल्न आवश्यक छैन’ भन्दा न्यायमाथि शत्रु लागेको होला कि पीडा अनुभव हुनेले 'अब पीडा नदिनु' भन्दा? आखिर शत्रु को? 

भदौ १८, २०८१ बुधबार ००:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।