‘वर एन्ड वधु’ : कन्पारो तताउन ‘उत्तम’ खुराक
फरक स्वादमा फिल्म निर्माणको प्रयास निर्देशक मिलन चाम्सको सकारात्मक पक्ष हो। फिल्म निर्माणमा धक फुकाएर खर्च गर्छन्। तर फिल्मको कथालाई बगाउन भने उनी सधैँ असफल। ‘गोर्खा वारियर’मा पनि यही समस्या देखिएको थियो। त्यही कमजोरी उनले फिल्म ‘वर एन्ड वधू’मा पनि दोहोर्याए।
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्ममा उनले आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यलाई जोडीका रूपमा प्रस्तुत गरेका छन्। यी दुवैको जोडी ‘अनमेल’ देखिन्छ। पहिलो मार यहीँ खाए निर्देशकले।
परदेशीयका युवाको सोच र स्वदेशमै रहेका परिवारका ज्येष्ठ सदस्यको मनोदशालाई फिल्ममार्फत देखाउने प्रयास गरेका छन् चाम्सले। तर कथामा जोडजाड सूत्र हाबी छ। कमेडी र सोसल ड्रामा खिचडी फिल्ममा कमेडियन छन् तर हँसाउने भन्दा बढी रिस उठाउँछन्। सोसल स्टोरी त छ तर ‘ड्रामा’ बढी हाबी छ।
खड्काकाजी (रविन्द्र खड्का) र धनकुटे थापाकाजी (विजय लामा’को राजनीतिक द्वन्द्वमा लगेर छोरा-छोरीको प्रेम मिसाएका छन् निर्देशकले। लोकेसन फरक भए पनि कथावस्तु फरक हैन। यसमा हल्का ट्विस्ट दिन निर्देशकले दुस्मनहरूलाई सम्धी बनाएर पैसा कमाउने पात्रको निर्माण गरेका छन् गजुरेल पण्डित (किरण केसी) को। फिल्म यहीँबाट ओरालो लाग्न सुरु हुन्छ। किरण केसीको झुर अभिनयमा यसले इतिहास निर्माण गरेको छ।
दुवैको छोरा र छोरी मिलाएर बिहे गराउन सके पैसा पाउने लोभमा इटाली र फ्रान्समा रहेका दुबैलाई रोमानियामा बोलाएर भान्जा ( हिमेश पन्त) मार्फत मिलाउनेक्रममा रचिएको कथा निकै बकवास देखिएको छ पर्दामा।
यी दुवैको विवाह हुन्छ त? फिल्मको सस्पेन्स यही हो जुन फर्मुला कथाका फिल्म हेरिरहेका दर्शकका लागि सस्पेन्स भने बन्न सक्दैन, सकेको छैन।
कथालाई भिज्योल्ली रिच बनाउन निर्माताले पैसाको लोभ गरेका छैनन्। रोमानिया र नेपालका दृश्य राम्रो छ। तर राम्रा दृश्यलाई कथासँग जोड्न सक्यो भने मात्र फिल्म बन्छ। नत्र त्यो भ्लग बन्छ भन्ने ज्ञान निर्देशमा देखिएन। फिल्मको ब्याकग्राउन्ड म्युजिकले फिल्मको सकारात्मक पक्ष हल्का बढाउन सघाएको छ।
फिल्मलाई पजेटिभ टोनमा अन्त्यको प्रयास गरिएको छ। तर त्यहाँ पात्रको मनस्थितिको द्वन्द्व पस्कन नसक्दा त्यसको प्रभाव दर्शकमा पर्न सकेको छैन। बाबु बिरामी हुँदा त वास्ता नगर्ने पात्रको मन एउटा कविताबाट बदलिएको ‘ठिस’ प्लटले फिल्मलाई निकै कमजोर बनाएको छ।
कमसेकम पर्दामा समान उमेरका पात्रको रूपमा कलाकारलाई अभिनय गराउँदा दृश्य त्यही अनुसार देखाउन सक्नुपर्छ। कि कथामै दुई पात्रबिचको उमेरको अन्तर किन बढी छ भनेर खुलाउन सक्नुपर्यो।
वास्तविक उमेर जति भए पनि पर्दामा जोडीको उमेर समकक्षी देखाउन मेकअप अनि क्यामरा वर्कले पनि साथ दिन सक्छ। तर यसमा मुख्य जोडी अभिनेत्रीका रूपमा रहेकी टीका अर्थात् आँचल र बनिष अर्थात् विवेकबीचको उमेरको भिन्नता प्रस्टै देखिन्छ। पर्दामा यी दुवै पात्र प्लस टुमा पढ्ने युवक र कलेजमा ब्याचलर्स पढ्दै गरेकी युवती जस्ता देखिएका छन्।
गजुरेल पण्डितको भूमिकामा रहेका किरण केसीको थेगोले हँसाउने हैन कन्पारो तताउँछ दर्शकको। पटक-पटक श्रीमती (कुसुम शर्मा)लाई लेग्रो तानेर ‘कान्चु’ भन्ने थेगो सुन्दासुन्दा दर्शक इरिटेड हुन्छन्।
छोरा-छोरीको विवाहमा आमा-बाबुले आफ्नो सुहागरातमा खाट र सोफा भाँचेको संवाद राख्दा फिल्म हेरिरहेका दर्शक रसिक मुडमा जान्छन् भन्ने भ्रममा देखिए लेखक र निर्देशक। रसिक बनाउन कथाको प्लट पनि मिल्नुपर्यो नि। बिना प्रशंगको संवादले यो मन्दिरमा दर्शन गरिरहेको बेलामा भट्टीको लफडाको प्रसङ्ग जोडो जस्तै देखिएको छ।
अभिनेत्री आँचल आफ्नो पुरानै लयमा छिन्। उनको यो फिल्ममा पनि आफ्नै पाराको अभिनयलाई निरन्तरता दिएकी छिन्। विवेकको मसल्स् जति आकर्षक देखिएको छ अभिनय त्यति नै झुर छ।
‘सकम्बरी को पात्रबाट प्रशंसा पाएको कुसुमको अभिनय दर्शकमाझ नोटिस्ड हुने तहको छैन। कमेडियन दिनेश काफ्लेको दर्शक हँसाउने प्रयास असफल देखिन्छ। अर्की कमेडियन सीता न्यौपानेको अभिनय मध्यमतहको भए पनि अन्य कलाकारको अभिनय हेर्ने हो भने यसमा बलियो देखिन्छ।
हिमेश पन्त यो फिल्ममा किन जोडिएका हुन्? सायद उनी नै अहिले यसको उत्तर खोजिरहेका होलान्। फिल्ममा ‘सिरसिरे हावा चल्यो’,‘तिमीसँग रिसाउने’र अर्को जिन्दगी नै बिरानो छ’बोलको गीत ठिकठाकै छ।
गरिमा शर्मालाई निर्देशकले फिल्ममा बबाल इन्ट्री र एक्जिट गराउने प्रयास गरेका छन्। तर दर्शकले त्यो अनुभव गर्ने मौका पाएका छैनन्।
फिल्मको ब्याकग्राउण्ड म्युजिक ठिकै छ। द्वन्द्वको सिनलाई द्वन्द्व निर्देशक हिमाल केसीले केही फरक देखाउने कोसिस गर्दा नायकको बडी देखायो भने त फिल्म ‘एनिमल’ जस्तै हिट हुन्छ भन्ने भ्रमबाट ग्रसित देखिए।
अन्त्यमा जति फिल्म फ्लप भए पनि, जति पटक निर्देशनमा चुके पनि मिलन चाम्सले न फिल्म बनाउन छाडेका छन् न कमजोरी सुधारेका छन्। सङ्ख्या भने बढाएका छन्।
भदौ १७, २०८१ मंगलबार २२:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।