विष्णुमतीले खतराको तह पार गर्यो, राती पनि ठाउँठाउँमा वर्षाको सम्भावना हुँदा सावधानी अपनाउन आग्रह

विष्णुमतीले खतराको तह पार गर्यो, राती पनि ठाउँठाउँमा वर्षाको सम्भावना हुँदा सावधानी अपनाउन आग्रह

काठमाडौँ : काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ। 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा नदी किनारको बाटो भई यात्रा गर्नेलाई सावधानी अपनाउन सूचना जारी गरेको छ। 

विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। 

विभागका मोसमविद् प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिए। 

उनले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए। काठमाडौँ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो। 

विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।  

भदौ १७, २०८१ मंगलबार २१:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।