एक्लै चुनाव लड्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै ओलीले भने '०८४ मा हामी पनि गठबन्धन गर्दैनौं'

एक्लै चुनाव लड्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै ओलीले भने '०८४ मा हामी पनि गठबन्धन गर्दैनौं'

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसले आगामी ०८४ को निर्वाचन एक्लै लड्ने निर्णय गरेपछि त्यसको स्वागत गरेका छन्। 

मंगलबारको पोलिटब्युरो बैठकमा ओलीले कांग्रेसको निर्णयलाई स्वागत गर्दै आफूहरू पनि आगामी निर्वाचनमा गठबन्धन नहुने बताए। 

'०८४ को निर्वाचनमा हामी गठबन्धन गर्दैनौँ। एक्ला–एक्लै चुनाव लड्नेछौँ,' ओलीको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने। 

ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताए। आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ। 

'कांग्रेसले ०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ। त्यो स्वागतयोग्य छ। हामी पनि एक्लै लड्नेछौँ', ओलीले बैठकमा भने।

त्यस्तै, बैठकमा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए।

आजको पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्। 

बुधबार बस्ने बैठकमा पोलिटब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइनेछ। त्यसपछि वार्षिक कार्ययोजनाबारे निर्णय हुने हुनेछ।  

भदौ १७, २०८१ मंगलबार २१:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।