वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने योजना छ : श्रममन्त्री

वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने योजना छ : श्रममन्त्री

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगारीको दशकको रुपमा अघि बढाउन मन्त्रालय लागिपरेको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीको सदुपयोग गर्दै मुलुक निर्माणको योजना सरकारको प्राथमिकतामा रहेको बताए। 

उनले भने, 'युवालाई स्वदेशमै राख्नका लागि, वैदेशिक रोजगारीको विकल्प भनेको रोजगारी नै हो। वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने र उहाँहरूको सीप, संस्कार र संस्कृतिलाई सदुपयोग गर्न एवं विभिन्न स्र्टाटअपसँग जाडेर मुलुक निर्माण गर्ने सरकारको प्राथमिकता हो।' 

उनले हालमात्रै सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन भइरहेको जानकारी दिए। 

मन्त्री भण्डारीले महिला कामदारलाई वैधानिक बाटोबाट घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउँदै केही मुलुकमा ‘पाइलट प्रोजेक्ट’का रुपमा अघि बढाउने योजनाबारे सदनलाई जानकारी गराए। 

वैदेशिक रोजगारीमा गत वर्ष सन् २०२३ मा नयाँ र पुराना गरी सात लाख ७१ हजार जनाले श्रम स्वीकृति लिएको तथा चालु आवको चैत्र मसान्तसम्ममा पाँच लाख ३९ हजार ६५ जनाले श्रम स्वीकृति लिएका छन्। मन्त्री भण्डारीले दैनिक सरदर दुई हजार एक सय १३ जना श्रम गर्न विदेशीने जानकारी दिए।  

भदौ १७, २०८१ मंगलबार १९:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।