'असोजको पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी'

'असोजको पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी'

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको दाबी गरेका छन्। 

राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताए। 

हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौंबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनको दाबी छ। 

मौसममा सुधार आउनेबित्तिकै मेलम्चीको सुरुङमा पानी पठाइने छ। मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराइएको मन्त्री यादबले बताए। 

उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको छ। 

उनले तराई-मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भएपनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको बताए। 

भदौ १७, २०८१ मंगलबार १९:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।