ओलीलाई प्रश्न गर्दै लेखेको फेसबुक स्टाटस हटेपछि बालेनले भने 'म गलत भए मलाई समाउ, हैन भने दोषी समाउ'

ओलीलाई प्रश्न गर्दै लेखेको फेसबुक स्टाटस हटेपछि बालेनले भने 'म गलत भए मलाई समाउ, हैन भने दोषी समाउ'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै राखेको पोस्ट हटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रिसाएका छन्। 

आज सरकारले आफ्नो पोस्ट उडाएको भन्दै उनले फेसबुकमा अर्को स्टाटस लेखे। 

गत आइतबार बालेनले राखेको एउटा स्टाटस फेसबुकबाट हटेको थियो। त्यसपछि बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाहले उक्त स्टाटस फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको भनेका थिए।

त्यसपछि आक्रोशित बनेका बालेनले आजै सामाजिक संजालमा लेखेका छन्, 'पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।'

के थियो बालेनको हटेको स्टाटस?
बालेनले आइतबार साँझ एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहित शर्माले बाल श्रमशोषण गरेको र उनलाई पक्राउ किन नगरेको भन्दै एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै स्ट्याटस राखेका थिए।

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?’ 

भदौ १७, २०८१ मंगलबार १८:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।