अन्तर्राष्ट्रिय समितिले सरकारलाई भन्यो- राजदूत सिफारिसमा समावेशिता ख्याल गर्नू

अन्तर्राष्ट्रिय समितिले सरकारलाई भन्यो- राजदूत सिफारिसमा समावेशिता ख्याल गर्नू

काठमाडौँ : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्रीसँग छलफल गर्दै समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका-२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दियो। 

समितिका सभापति राजकिशोर यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताए। 

समितिले परराष्ट्रमन्त्रीसँग हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल गरेको छ। 

बैठकमा सांसदहरुले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहित बनाउनुपर्नेमा जोड दिए।   

भदौ १७, २०८१ मंगलबार १८:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।