५ दिनमै बुहारी, भाउजू र नातिनीलाई अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

५ दिनमै बुहारी, भाउजू र नातिनीलाई अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिका-३ कालाफाँटास्थित गेगली गाउँकी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी गरिन्। घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो।

श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट सङ्क्रमित ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो अनि त्यसको दुई दिनपछि १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्। 

पाँच दिनको अवधिमा बुहारी उषा, भाउजू शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्छन्। 

'सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ। स्वास्थ्य संस्थामा लैजान पनि नपाउँदै घरमै तीन जनाको निधन भयो,' उनले सुनाए। 

श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ मा मृत्यु भएपछि गेगली गाउँले शोक र भयमा छन्। 

गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताए। 

गेगली गाउँमा एक हप्ताको बीचमा चार जनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। 

तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीन जनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए। 

भदौ १७, २०८१ मंगलबार १७:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।