शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान

बुटवल : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन्।                                   

अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए।                                    

‘प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन्। उहाँ हामी दुवैको साझा मान्छे हो। उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो।’ 

आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरुले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ छ। 

ओली सरकारलाई जनताले काला-काले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस-एमाले सरकार बनाएको स्वीकार गरेको पुनले बताए। 

उनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस-एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए। 

भदौ १७, २०८१ मंगलबार १७:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।