बालबालिकालाई काममा लगाउने ३५ उद्योगलाई कारबाही, ३५ बालबालिकाको उद्धार

बालबालिकालाई काममा लगाउने ३५ उद्योगलाई कारबाही, ३५ बालबालिकाको उद्धार

बागमती : श्रम तथा रोजगार कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८०/८१ मा बालबालिकालाई बाल श्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरेको छ।  

कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ६१ हजार एक सय जरिवाना तथा तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ। 

सो अवधिमा ९५ उद्योगको अनुगमन गरिएको र त्यसमध्येबाट केही उद्योगबाट बाल श्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए। 

आव २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम् पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम् पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको उनको भनाई छ। 

सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरिएको छ। त्यसक्रममा कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको छ। 

सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले बताए।  

भदौ १७, २०८१ मंगलबार १७:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।