सिरहामा कुटपिट गरेर गरगहना लुटियो

सिरहामा कुटपिट गरेर गरगहना लुटियो

काठमाडौं : सिरहाको गोलबजार नगरपालिका-१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ। स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरूले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगे।

लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उनको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए।

घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताए। 

इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ। 

'सामान्य चोरी भएको भन्ने सूचना आएको थियो। हामीले प्रहरी टोली खटाइसकेका छौँ। थप अनुसन्धान गर्दै छौँ', निरीक्षक सुनिल कार्कीले भने। 

भदौ १७, २०८१ मंगलबार १५:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।