पूजालाई के थाहा, बारम्बार एउटै कुराले प्रहार गरिरहँदा त्यसले अरूलाई कस्तो पीडा हुँदो हो!

पूजालाई के थाहा, बारम्बार एउटै कुराले प्रहार गरिरहँदा त्यसले अरूलाई कस्तो पीडा हुँदो हो!

काठमाडौं : नायिका तथा निर्मात्री पूजा शर्माको फिल्म 'रावायण' प्रदर्शनको अन्तिमको तयारीमा छ। फिल्म चलाउनका लागि कहिले रूने त कहिले अन्टसन्ट अन्तर्वार्ता दिँदै हिँड्ने पूजाको बाणी अझै फेरिएको छैन। अझ 'रावायण'सम्म आइपुग्दा त उनी बलात्कारजस्तो संवेदनशील विषयलाई पनि सामान्यीकरण गर्दै कसैको व्यक्तिगत जीवनमाथि नै प्रहार गर्नसम्म भ्याइन्। 

पूजाले फिल्म प्रचारकाक्रममा एउटा पोडकास्टमा बोल्दै नायक पल शाहलाई कानुनले नै निर्दोष साबित गरेकोले अब कसैले बोल्न जरुरत नरहेको बताइन्। उनले यो विषयमा यसरी पललाई सफाई दिइरहेको यो पहिलोपटक भने हैन। लाग्छ, पूजालाई फिल्म ‘रावायण’ भन्दा पल ब्राण्डिङको चिन्ता बढी छ। 

'भगवान छ सत्यको जित हुन्छ। कानुनले नै पललाई निर्दोष साबित गरिसकेको छ। कानूनले बोलिसकेपछि सक्यो। यहाँ कसैले बोल्न जरुरत छैन। पललाई कसैले नाम ट्याग गर्न जरुरत पनि छैन,' उनले पोडकास्टमा भनेकी छन्। 

फिल्म प्रचारकाक्रममा फिल्मको टिजर अनि ट्रेलरमा देखिएका कमजोरीबाट बनेको नकारात्मक माहौल चिर्न सक्रिय हुनुपर्ने हो नि निर्मात्री त। तर, फिल्मको प्रचारमा उनमा फिल्मको व्यापार भन्दा बढी पल शाहको ‘इमेज सुधार्न’ बढी चिन्ता देखियो। 

उच्च अदालतबाट नाबालिग बलात्कारको घटनामा सफाइ पाउने चरणसम्ममा पलबाट कति शक्ति दुरुपयोग भयो, पीडित कसरी होस्टायल बनाइयो ती सबै घटनाक्रम सार्वजनिक भइसकेका छन्। उच्चबाट भएको फैसला उल्टिसकेको छैन। त्यसैले कानुनी रूपमा उनी निर्दोष हुन्। तर, यो मुद्दा सर्वोच्चमा ब्यूँतिइसकेको छ। यो हेक्का पूजालाई हुनुपर्ने हो।

कानूनी कुरा त परको भैगो। सामान्य मानवीय समवेदनासमेत बुझ्दिनन् पूजा। 

पूजालाई के थाहा, बारम्बार एउटै कुराले प्रहार गरिरहँदा त्यसले अरूलाई कस्तो प्रभाव पर्छ! पूजालाई यसको जबाफ दिएकी छन्, गायिका समीक्षा अधिकारीले।  

उनले लेखेकी छिन्, 'अदालत नै पोडकास्टहरू हुन भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही, के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र, माफी दिएर साबित गरिदिएँ।'

पूजाका यस्ता कुराले आफू बारम्बार प्रताडित भएको भन्दै उनले थप अगाडि लेखेकी छिन्, 'सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो 'तिमी मेरो बहिनी' भनेर आउनुभयो, मैले दिदी भनेँ, माने। अहिले पनि मानेकी छु। मान्छु तर, यसरी पिडा नदिनुस् प्लिज।' 

भदौ १८, २०८१ मंगलबार १५:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।