पुरूष काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने अवस्था अब हट्छ : महिलामन्त्री

पुरूष काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने अवस्था अब हट्छ : महिलामन्त्री

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन्। 

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बीचको खाडल पुर्नेगरी काम गरिरहेको बताए। 

उनले भने, ‘मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरू गम्भिरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरूसँग समन्वय गरेर हामी आफ्नो समस्याहरूलाई निदान गर्ने र महिलाहरूको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो। आजको एक्काइसौं शताब्दीको  युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन।’

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूको प्रगति भएको मन्त्री साहको भनाइ छ। 

नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए। 

‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो। नेपालमा पुरूष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ। त्यो अवस्था अब हुँदैन,’ उनको भनाइ छ। 

भदौ १७, २०८१ मंगलबार १५:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।