'संविधानको मर्मलाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको छ'

'संविधानको मर्मलाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको छ'

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको दाबी गरेकी छिन्। 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन्। 

उनले भनिन् ‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ। संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ।’

उनले राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको पनि स्पष्ट पारिन्। 

सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको उनको दाबी छ। 

उनले भनिन्, ‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको छ।’

उनले आफ्नो भारत भ्रमण गुडविल भिजिट भएको दाबी गर्दै भ्रमणको मुख्य उद्देश्य दुईपक्षिय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको बताइन्।  

भदौ १७, २०८१ मंगलबार १४:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।