गोकर्णेश्वरमा असरल्ल दुनाटपरी, व्यवस्थापनमा ढिलाइ हुँदा दर्शनार्थी समस्यामा

गोकर्णेश्वरमा असरल्ल दुनाटपरी, व्यवस्थापनमा ढिलाइ हुँदा दर्शनार्थी समस्यामा

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औंसीमा सोमबार मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ गरिएको छ।

बाबुको मुख हेर्ने औंसीका रूपमा चिनिने भाद्र कृष्ण औंसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आई पिताप्रति सम्मान प्रकट गर्ने गर्छन्।

सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो।

उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ।

आज सूर्योदयकालमा औंसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए। पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रूपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गरे।

मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहर गर्नेलाई  सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए। बागमती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ।

गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानले सोमबार दिउँसो चार बजेपछि त्यस क्षेत्रमा सफाइ गरे पनि पूरै फोहर भने उठाएन। अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताए।

बागमती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उनले दिए।

भदौ १७, २०८१ मंगलबार १३:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।