मङ्गोलिया पुगे रुसी राष्ट्रपति पुटिन, पक्राउ पर्नेमा आशंकका बीच ‘गार्ड अफ अनर’को सम्मान
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि सोमबार राति मङ्गोलिया पुगेका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पुटिनलाई पक्राउ गर्न मंगोलिया सरकारलाई आदेश दिएको थियो तर मंगोलिया सरकारले उनलाई ‘गार्ड अफ अनर’ले सम्मान गर्यो।
समाचार एजेन्सी टासका अनुसार पुटिनलाई आईसीसीको आदेशलाई बेवास्ता गर्दै राजधानी उलानबाटारमा परम्परागत ढंगले स्वागत गरिएको थियो।
यस अवधिमा, चंगेज खानको स्मारक मंगोलिया र रूसको झण्डाले रंगिएको थियो।
केही मानवअधिकार समर्थकहरूले विमानस्थलबाहिर विरोध प्रदर्शन गरे पनि सरकारले पुटिनको स्वागतमा कुनै कसर बाँकी राखेन। उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री बाटमुन्ख बत्तसेसेग आफैं विमानस्थल पुगेका थिए।
मङ्गोलिया आईसीसीको सदस्य राष्ट्र हो। आईसीसीले मार्च २०२३ मा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। युक्रेनमा बालबालिकाको अपहरण र देश निकाला गरेको आरोपमा पुटिनमाथि युद्ध अपराधको आरोप लागेको थियो।
वारेन्ट जारी भएदेखि पुटिनले १२ देशको भ्रमण गरिसकेका छन्। जसमा चीन, उत्तर कोरिया, साउदी अरेबिया र युएई जस्ता देशहरू पर्छन्।
अहिलेसम्म पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण नगर्ने गर्दथे। तर, राष्ट्रपति पुटिनको स्वागतलाई हेर्दा मङ्गोलियाले आईसीसीको आदेशलाई बेवास्ता गरेको स्पष्ट देखिन्छ।
भदौ १८, २०८१ मंगलबार १३:१७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।