वर्षातको व्यापार : घोँगी र झिँगामाछाबाट दैनिक १५ सय कमाउँछन् थारु महिला

वर्षातको व्यापार : घोँगी र झिँगामाछाबाट दैनिक १५ सय कमाउँछन् थारु महिला

कैलाली : भजनी नगरपालिका-८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ।

वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।

खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको उनको भनाइ छ।

‘घरमा खासै काम हुँदैन। फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मारे पनि आफूलाई खान हुन्छ। बढी भए सुकाएर भोलिका लागि हुन्छ। त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ’, उनी भन्छिन्।

नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गर्छन्। कतिपयले त्यसलाई वर्षातको समयमा आम्दानीको स्रोत नै बनाएका छन्।

‘घरमा चार जना छौँ। दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ,’ भजनीकै जितेन्द्र चौधरी भन्छन्, ‘केही भएन भने पनि दिनमा तीन/चार केजीसम्म सङ्कलन भइहाल्छ। त्यो बिक्री गरेपछि एक हजारदेखि १५ सय रुपैयाँसम्म आइहाल्छ।’

उनले झिँगामाछा र घोँगी बेचेर साउनमा मात्र लगभग ६५ हजार रुपैयाँ आम्दानी गरेको सुनाए।

भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ। कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ। डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछन्।

‘नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन्। त्यसमा जाल हाल्यो भने दुई-तीन केजी दिनमा भेट्टाइन्छ,’ उनी भन्छन्, ’बिक्रीका लागि बजारको समस्या छैन। नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ।’

आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताए।

बजारमा घोँगीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँसम्म छ। झिँगामाछा चारदेखि छ सय रुपैयाँसम्म बिक्री हुन्छ। ठूलो माछा आठ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन्।

उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी र चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेका छन्।

‘दैनिक १०-१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ। बढी भएको अन्य होटलमा पठाउँछौँ,’ जीतबहादुरले भने, ‘यो याममा एउटै महिलाले ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु।’

फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिममुक्त भने छैन। धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले राम्रो कदापी हैन। वर्षामा भिज्दा झन् डर हुन्छ। पैसाको अगाडि सबै बिर्सने गरेको विन्दु चौधरीको भनाइ छ।

‘पानी तलको भुइँ देखिँदैन। अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ,’ उनले भनिन्, ‘हातमा सधैँ घोँगी आउँछ भन्ने छैन। फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन।’

जोखिम मोलेरै भए पनि वर्षातको सुरुआती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ।

राससमा आएको स्टोरी सम्पादन गरिएको।

भदौ १७, २०८१ मंगलबार ११:०८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।