ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ‘ग्लोबल जुनियर एप’ सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ‘ग्लोबल जुनियर एप’ सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ।

बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको बैंकले जनाएको छ।

एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्।

एप मार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुने बैंकको दाबी छ।

एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ।

यो एप बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन्।

यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ।

भदौ १७, २०८१ मंगलबार १०:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।