भारतीय भलिबल टिमकी कप्तानले मधेशबाट खेल्ने
काठमाडौं : मधेश युनाइटेडले आगामी असोजमा हुने ‘एभरेष्ट महिला भलिबल लिग’का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ।
योसँगै मधेश युनाइटेड लिगमा तीन विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो टोली बनेको छ। मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ।
केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्।
जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।
जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।
भदौ १८, २०८१ मंगलबार ०९:४५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।