बन्धकहरूको रिहाइका लागि नेतन्याहुले पर्याप्त काम नगरेको बाइडेनको आरोप

बन्धकहरूको रिहाइका लागि नेतन्याहुले पर्याप्त काम नगरेको बाइडेनको आरोप

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको आरोप लगाएका छन्।

अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ ‘अन्तिम’ प्रस्ताव पठाउन सक्ने रिपोर्टहरू आइरहेको बेला बाइडेनले यस्तो आरोप लगाएका हुन्। 

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस नयाँ प्रस्तावको बारेमा वार्ताकारहरूसँग भेट गरेको बीबीसीले जनाएको छ।

इजरायली सरकार विरुद्ध त्यहाँका लाखौं स्थानीयले प्रदर्शन जारी राखेपछि बाइडेनले आफ्ना साथी मानिने नेतन्याहुलाई यस्तो आरोप लगाएका हुन्।

प्रदर्शनकारीहरूले पनि बन्दीहरूको रिहाइका लागि नेतन्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको आरोप लगाएका छन्।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा सयौं मानिसलाई बन्धक बनाइएको थियो। ती मध्ये ६ जनाको शव गत शनिबार गाजाको रफाहमा रहेको सुरुङमा भेटिएको थियो।

बाइडेनले अमेरिकाले हार नमान्ने र सहमतिका लागि प्रयास जारी राख्ने बताए।

भदौ १७, २०८१ मंगलबार ०७:५९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।