प्रतिनिधि सभा बैठक बस्दै, तीन मन्त्रीले सांसदले प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठक बस्दै, तीन मन्त्रीले सांसदले प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यसका अलावा शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्याविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन्।

यसका अलावा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत हुँदैछ।

भदौ १७, २०८१ मंगलबार ०७:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।