राजनीति मज्जाले बुझेका वसन्तपुरमा कुश बेच्ने गुणबहादुर, भन्छन् 'नेताहरूले पालैसँग खाने हो, हामी जस्ताको त्यस्तै'
धादिङ नौबीसे घर भएका गुणबहादुर विसुङ्खे आजै मात्र काठमाडौँ आएका हुन्। श्रीमतीलाई घरका गाई, भैँसी, बाख्राको जिम्मा लगाएर ८० मुठा कुश बोकेर बिहान मात्रै काठमाडौँ आए उनी। गुणबहादुरलाई कुश बेचेर घरको नुन, तेल र तीजको लागि केही खर्च हुन्छ कि भन्ने ठूलो आशा छ।
गुणबहादुर विगत १२ बर्षदेखि कुशको व्यापार गर्न यहाँ आउँछन्। हुन त उनका छोराहरू पनि काठमाडौंमै बस्छन् तर, घरमा श्रीमती मात्रै भएकोले उनी आजै घर फर्किन खोजिरहेका छन्।
‘बस्तु धेरै छ। सानु ठुलो गरेर २३ भन्दा बढी होला। बाख्रा १८ वटा छन्। भैँसी गाई गरी ५ वटा छ। अहिले म यता आउँदा गाह्रो हुन्छ बुढीलाई, वस्तुभाउ हेर्न। म अहिले नै फर्किनुपर्छ,’ उनले भने।
गुणबहादुरका ४ छोरी र ३ छोरा छन्। तर, उनीहरुको पनि स्थायी काम नभएकोले आफ्नो ६३ बर्षको बुढो हड्डी खियाउन हरेक बर्ष कुशे औँसीको दिन कुश बेच्न काठमाडौँ आउँछन् उनी।
‘छोरा-छोरी भएर पनि के गर्नु। छोरा भए बुहारीलाई, छोरी भए ज्वाइँलाई। उनीहरुले भनेको बेला खर्च दिन सक्दैनन्। कहिलेकाही आक्कलझुक्कल गर्ने हो। उनीहरूकै परिवारलाई ठिक्क हुन्छ। ठुलठुला जागिर खान सकेका छैनन्,’ उनी निरास सुनिए।
कुश बेचेर उनले घर फर्किने बेलासम्ममा जम्मा २१ सय रूपैयाँ कमाएका थिए। तर पनि उनी सन्तुष्ट देखिन्थे।
000
‘४ बर्ष इन्डियामा गार्डको काम गरें, चोर लागेपछि घरै फर्किएँ’
गुणबहादुरको घरमा नुनतेल खानकै लागि अभाव भएपछि उनी ४० बर्षको उमेरमा दिल्ली पुगे। जेठान र साथीहरू दिल्लीमै काम गर्ने भएकोले उनलाई पनि त्यहाँ जान मन लाग्यो अनि जेठानको पछि लागेर दिल्ली गए। त्यसपछि सुरक्षा गार्डको काम पाए।
सुरूसुरूमा त दिल्लीमा गुणबहादुरको काम राम्रै थियो। महिनाको नेपाली २० हजार थियो। तर, गार्डको काम रातमा पनि पर्ने अनि फेरि चोर पनि लाग्ने भएकाले उनलाई त्यहाँ बस्न मन लागेन। त्यसपछि २ बर्षमै गाउँ फर्केर खेतिपाती सम्हाल्न थाले।
‘इन्डिया काम गर्दा ठिकै थियो। रातमा ड्युटी पर्यो भने चोरको डर हुन्थ्यो। म बसेको घरमा केही लुटियो भने हाम्रै थाप्लोमा हुन्थ्यो,’ उनले सुनाए।
एकपटक गुणबहादुरले काम गरेको घरमा चोर आएछ। तर, लुटेर लग्न भने पाएनछ। चोरले लग्न ठिक्क परेको सामान होहल्ला भएपछि छोडेर भागेछ।
यी सबै भोगेपछि बिरक्तिएका उनी घर फर्किए। आफूले सोचेजस्तै खेतिपातीमै रमाए केही समय। तर, घरको आर्थिक परिस्थितिले उनलाई फेरि विदेशिन बाध्य बनाइछाड्यो।
अन्ततः गाउँमा केही सीप नचलेपछि उनी दोस्रो पटक पनि इन्डिया गए। त्यसबेला तामा, पित्तलको गोदाममा गार्डकै काम पाए। तर, त्यतिबेला चाहिँ बस्न मन हुँदाहुँदै पनि त्यहाँ २ बर्ष बसेर घर फर्किए।
‘२०७२ वैशाख १२ मा भुइँचालो गयो। घर गर्ल्यामगुर्लुम भत्काएछ। १२ गते भुइँचालो गयो, १९ गते त घर आइसकेको थिए। पछि जान मन लागेन अनि यतै खेतिपाती सम्हाल्न थाले,’ उनले सम्झिए।
अहिले त गुणबहादुरलाई इन्डियामा भन्दा काम गर्न नेपालमै रमाइलो लाग्न थालेको छ। नेपालमा व्यापार राम्रो नभएपनि खेतिपातीबाट नै खान पुग्ने उनी बताउँछन्।
‘खेतिपाती गर्ने हो। अहिले चार हल गोरु लाग्ने खेत छ। धान १५ मुरी हुन्छ, १० मुरी जति मकै हुन्छ, कोदो ८/१० मुरी फल्छ। त्यसबाट खान पुग्छ। त्यही तेल मसलाको लागि चाहिँ यसरी नै काम गरेर पुर्याउनुपर्छ,’ उनले भने।
उमेरमा बाध्यताले दिल्लीसम्म पुर्याएर घर फिरेका गुणबहादुर अहिले गाउँमा युवा नभएको दुखेसो गर्छन्।
‘अहिले गाउँमा ८ देखी १४ बर्षका र ५५ देखी ६० बर्षका मात्रै छन्। केटा भन्ने जति गाउँमा छैनन्,’ उनी भन्छन्।
गुणबहादुरलाई लाग्छ- अभाव पनि घट्दै जाने कुरा रहेछ!
२ जना दाजुभाइ, एउटी बहिनी भएका गुणबहादुरले पढ्न पाएनन्। घर भन्दा २ घण्टा टाढा रहेको स्कुलसम्म त उनी पुगेका थिए। तर, घरको अभावले गर्दा पढ्न भने पाएनन्।
‘हामी पढ्ने बेलामा कस्तो थियो भने, पढ्ने पाटीमा लेख्ने बेला थियो। बुवाको कमाई हुँदैन थियो। भाइले ३ कक्षासम्म पढ्यो, मैले चाही पढ्न पाइँन,’ उनले सुनाए।
उनलाई अभाव पुस्तान्तरण भएको जस्तो लाग्ने रहेछ। उनका बाबुभन्दा उनलाई अलि कम दुख, उनलाई भन्दा उनका छोराहरूलाई दुख कम भएको उनको अनुभव छ।
‘पहिला पहिला पढ्न अभाव नै थियो। काम हुँदैन थियो। अहिलेको जस्तो व्यापार हुँदैन थियो। गाउँमा काम पाउँदैन थियो। हामीले भन्दा पनि हाम्रो बा ले दुख गर्नुभयो। बा ले भन्दा हामीले अलिकति सुख पाइयो। अब अहिले हाम्रो छोराहरूलाई अझै बढी सुख छ। उनीहरुले खाएकै छन्, लाएकै छन्। राम्रो भएर हिडेकै छन्,’ उनले सुनाए।
बुढेसकालमा छोराहरूले कसरी पाल्लान् भन्ने चिन्ता लिने गुणबहादुरलाई छोराहरूले भने चिन्ता नलिन सुझाउने गरेका रहेछन्। तर पनि छोराहरूको स्थिर काम नभएकोले गुणबहादुर बेलाबेला यही कुराले चिन्ता लिने रहेछन्।
‘पहिलाको हेरी जातीय विभेद घट्दै गएको छ’
गुणबहादुर कहिल्यै राजनीतिमा लागेनन्। तर, राजनीति बुझ्छन् मज्जाले। दलित समुदायबाट प्रतिनिधित्व गर्ने उनलाई आफ्नो समुदायको उत्थानको लागि भनेर माओवादी लगायतले आन्दोलन गरेपनि आफूहरूको अवस्था जस्ताको त्यस्तै रहेको उनलाई लाग्ने रहेछ।
'जुन जोगी आएपनि कान नै चिरेको भन्थे, त्यही हो। नेताहरु डुक्रिन्छन् डुक्रिन्छन् अनि थ्याच्च बस्छन्। एउटा पाटी आउँछ कराउँछन्, जान्छन्। उनीहरुले पालैसँग खाने हो। तपाईं हामी जस्ताको त्यस्तै,’ उनको बुझाई छ।
गुणबहादुरले भोगेका जातीय विभेदका घटना मध्ये एउटा घटना सम्झिए। गाउँका ठूला भनिएका जातिहरूले पिकनिक जाँदा आफूहरूलाई नलगेको तीतो यर्थाथ उनले बिर्सेका रहेनछन्। आफूबाहेक पनि आफ्नो समुदायमाथि जातीय विभेदको नाममा हुने गरेको छोइछिटो देखि कुट्ने सम्मको दृश्य देखेको थिए उनले।
तर, यस्ता किसिमका विभेदहरू पहिलेको हेरी निकै कम भएको उनको बुझाई छ। अहिले उनको गाउँमा मन्दिर छिर्न नदिने, कुट्ने चाहि नहुने रहेछ।
‘पहिला चाहिँ छोइछिटो अलिअलि गर्थे। गाउँमा पँधेरोमा तैँले पानी थाप्न हुँदैन पर बस हामी दिन्छौं भन्न सकेनन्। मन्दिर जान पनि मेरो पालोमा समस्या भएन। बरू पिकनिक जानलाई चाहिँ हामीलाई ख्याल राख्दैन थिए। हाम्रो बा, बाजेको पालामा हो बढी छुवाछुत हुने,’ उनले भने।
‘बिरामीहुदाँ लागेको २ लाख ऋण तिर्ने सकेको छैन’
गुणबहादुरको शरीर विभिन्न रोगले थलिएको छ। १३ महिनाअघि मात्रै मुटुको नशा सुकेर शल्यक्रिया गर्नुपरेको थियो। त्यतिबेला २ लाख ऋण लिएर उपचार गराएका उनलाई बेलाबेला चेकअपको लागि अस्पताल गइरहनु पर्छ। मुटुसँगै उनलाई थाइरोइड, प्रेसरको औषधी खानुपर्ने रहेछ।
‘मलाई थाइरोइड, प्रेसर, मुटुको रोग रोगको औषधी खानुपर्छ। मुटुको अपरेसन गर्दा २ लाख रूपैँया सकियो। अहिले औषधी खाँदैछु। अब २ महिनापछि फेरि जँचाउन जानुपर्छ। ऋण लिएर उपचार गरेको। अहिलेसम्म तिर्न सकेको छैन,’ उनले भने।
सरकारले विपन्न वर्गको लागि उपचार खर्चमा सहुलियत दिएपनि गुणबहादुरले भने उक्त सुविधा पाएनन्। उनले अस्पतालमा विपन्न वर्गको पत्र ढिलो गरी लगेको भन्दै अस्पतालले उनको उपचार बापतको पैसा फिर्ता दिएनछ।
‘विपन्न बर्गको पत्र ल्याएर पेश गरें। त्यो पत्रले पनि अपरेसनको सामान मात्रै दिने रहेछ। डाक्टरले भन्यो, १ लाखसम्मको निःशुल्क औषधी दिन्छ। अब तपाईंलाई निको नै हुन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले सुनाए।
सरकारले विपन्न वर्गको लागि दिने सेवा सुविधा नपाएपछि खिन्न हुँदै विपन्न वर्गको पत्र अहिले घरमा राखेका छन् उनले।
‘अहिले १२/१३ महिना भयो समय सकिसक्यो कि, पछि जँचाउन जाँदा हुँदैन पो भन्छ की?' उनले प्रश्न गरे।
अहिले आएर गुणबहादुरलाई पढ्न पाएको भए दुख पाइँदैन थियो कि जस्तो लाग्ने गरेको छ।
‘जिन्दगीमा आफ्नो पौरख, सीप हुनुपर्याे। पढिलेखेको छैनौं हामी। नपढेपछि भनेको काम पाउँदैन। कुटो, कोदालो गर्दा पुग्दैन, विमार हुन्छ,’ उनी खिन्न देखिए।
भदौ १७, २०८१ सोमबार २२:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।