दीपक मनाङेको राजीनामा स्वीकृत
गण्डकी : गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ (दीपक मनाङे)को राजीनामा स्वीकृत भएको छ।
आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीमा रहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, उनले सपथसमेत नलिई राजीनामा बुझाए।
आजै कति मन्त्री बन्नु, अल्छी लाग्यो, अब रेष्ट गर्नुपर्छ भन्दै राजीनामा दिएका मनाङेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
वन मन्त्रालयको जिम्मेवारी पाउने भएपछि उनले 'कामै नभएको मन्त्रालय' भन्दै असन्तुष्टि जनाएका थिए। आफूभन्दा जुनियरलाई दिने मन्त्रालय भन्दै असन्तुष्ट रहेका उनी वरीयता पनि घटाइएकोमा पनि रिसाएका थिए।
‘वन प्रदेशले हेर्नै पाउँदैन। वनमन्त्री चाहिँदैन। प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, राजीनामापछि मनाङेले भनेका थिए।
गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
मुख्यमन्त्री पाण्डेले आजै एमालेका चार जना मन्त्री नियुक्त गरेका छन्।
भदौ १७, २०८१ सोमबार २०:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।