इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाई सकियो, कसले के भने?

इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाई सकियो, कसले के भने?

काठमाडौं : संसदीय सुनुवाइ समितिले ४ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ। 

समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमिल्सेना, पाकिस्तानका रिता धिताल र पोर्चुगलका प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ सकेको छ। 

बैठकमा उनीहरूले आ-आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारी प्रस्ताव गरिएको मुलकबीच द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, वैदेशिक लगानी र सहयोगका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए। 

इजरायका लागि प्रस्तावित राजदूत पण्डितले इजरायलको स्थापनादेखि नै मध्यपूर्वमा देखिएको राजनीतिक समस्याको न्यायपूर्ण, दिगो र शान्तिपूर्ण समाधानका सम्बन्धमा नेपालले स्पष्ट धारणा राख्दै आएको बताए। 

मलेसियाका लागि प्रस्तावित राजदूत तिमिल्सिनाले नेपाल र मलेसिया संयुक्त राष्ट्रसंघका सदस्य र असंलग्न आन्दोलनका सहयात्री भएकाले दुवै देशका जनताको शताब्दी लामो जनस्तरको सम्पर्क र सम्बन्धले द्विपक्षीय सम्बन्ध अझै प्रगाढ तुल्याउन मद्दत गरेको बताए। 

'अघिल्लो शताब्दीमा बाह्य र आन्तरिक द्वन्द्वमा गोर्खा सिपाहीले मलेसियाको पक्षमा लडेको त्यहाँका जनताको स्मरणमा ताजै छ। त्यही युद्ध लड्ने पुस्ताका सन्तति मलेसियामै नागरिक भइ बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या ठूलो छ। नेपालमा मलेसियन पर्यटक भित्र्याउन ठूलो सम्भावना छ', उनले भने। 

छिमेकी राष्ट्रका हैसियतले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक विकासमा पाकिस्तानको सद्भाव रहेको उल्लेख गर्दै पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले भनिन्, 'पाकिस्तानले मेडिकल, इन्जिनियरिङ, फर्मेसी र पत्रकारिताजस्ता विषयमा अध्ययनका लागि नेपाललाई वार्षिक ३० वटा छात्रवृत्ति प्रदान गर्दै आएको छ।'

पोर्चुगलका लागि प्रस्तावित राजदूत पौडेलले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रलाई अझ सक्रिय बनाइ त्यसमार्फत द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप मजबुत बनाउन प्रयास गर्ने बताए। 

यसअघि समितिले भारत, चीन, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिसकेको छ।

कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ बाँकी नै छ। 

स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको पनि संसदीय सुनुवाई केही दिनभित्रै हुनेछ।

गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। 

भदौ १६, २०८१ सोमबार १९:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।