राजीनामा दिएपछि दीपक मनाङेले भने 'कति मन्त्री बन्नु, अल्छी लाग्यो, अब रेष्ट गर्नुपर्छ'
काठमाडौं : आफूले चाहेको मन्त्रालय नपाएपछि गण्डकी प्रदेश गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन्। उनले आफ्ना स्वकीय सचिवमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाए।
गण्डकीमा कांग्रेस-एमालेको सहमतिपछि मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर, वनमन्त्री बाहेक अन्यमा काम गर्न खोजेका उनले वनमन्त्रीको जिम्मेवारी भने नलिने भन्दै राजीनामा दिए।
वन मन्त्रालयको जिम्मेवारी पाउने भएपछि उनले 'कामै नभएको मन्त्रालय' भन्दै असन्तुष्टि जनाएका थिए। आफूभन्दा जुनियरलाई दिने मन्त्रालय भन्दै असन्तुष्ट रहेका उनी वरीयता पनि घटाइएकोमा पनि रिसाएका थिए।
‘वन प्रदेशले हेर्नै पाउँदैन। वनमन्त्री चाहिँदैन। प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने।
एमालेका मन्त्रीहरूको शपथ समारोहबाट रिसाउँदै बाहिर निस्किएका उनले अब आफूलाई सरकारमा जान पनि अल्छी लागेको बताए।
‘अब सरकारमा नजाने, अल्छी लाग्यो,’ उनले भने, कति खाने के, रेष्ट गर्नुपर्छ अब,’ उनले भने।
गण्डकीमा ४ जना एमालेका मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
भदौ १६, २०८१ सोमबार १८:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।