मलेसियाका प्रस्तावित राजदूतले भने 'त्यहाँ जताततै बिचौलिया हुन्छन् रे, म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु'

मलेसियाका प्रस्तावित राजदूतले भने 'त्यहाँ जताततै बिचौलिया हुन्छन् रे, म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु'

काठमाडौं : मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अप्ठ्यारो ठाउँमा जान लागेको बताएका छन्। 

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए। 

‘मलेसिया र नेपालमा म्यानपावर बीचमा काम गर्ने बिचौलियाहरू हुन्छन्। बिचौलियाले सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क दिँदैनन्। मलेसियामा जताततै विचौलिया हुन्छन् भन्ने सुनेको छु। जताततै ठग्ने काम गर्छन् रे,’ उनले भने, ‘राजदूतहरूले पुलिस लगाएर लखेट्नुपर्छ रे। म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु। मलाई थाहा छैन कति टिक्न सक्छु। यहाँहरूले बिचैमा तँ फेल भइस्, आइज भन्नुभयो भने मलाई केही छैन।’

उनले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए। 

यस्तै, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए। नेपाल इजरायलबीच सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्ने पनि उनको भनाई छ। 

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने प्रतिवद्धता जनाइन्। 

पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले पनि आफ्नो कार्ययोजना पेस पेस गर्दै पोर्चुगलमा पहिलो पटक नेपालको आवासीय राजदूतावास स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरू गर्ने प्रतिवद्धता जनाए।  

भदौ १६, २०८१ सोमबार १७:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।