बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौं घरबारविहीन

बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौं घरबारविहीन

एजेन्सी : बङ्गलादेशमा बाढीका कारण ११  प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। ५३ लाखभन्दा बढी मानिस प्रभावित छन्।  

द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली-नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन्।

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताए। 

वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाको गुनासो छ। 

मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले  परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे। 

मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन्। 

उनले बाढी पीडितको पुनःस्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताए। 

बाढीले घर तथा घरका सबै फर्निचरहरू बगाएकाले मर्मतका लागि पैसा नभएकाले आफ्नो परिवारले आफन्तकोमा शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताए। 

बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी (युएनओ) शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिए।  

आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था विस्तारै सुधार हुँदै गएपनि सात लाखभन्दा बढी परिवार अझै पनि देशभरि बाढीका कारण विस्थापित छन्। 

चट्टोग्राम, फेनी, खागड़ाचारी, हबिगञ्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनमा अनुसार हाल सात लाख पाँच हजार ५२ परिवार अझै पनि डुबानमा परेको प्रतिवेदनमा जनाइएको छ।  

भदौ १७, २०८१ सोमबार १७:१७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।