बदलियो मानव बेचबिखनको शैली : पहिले गाउँका सोझा महिला बेचिन्थे, अहिले सहरका टाठाबाठा सजिलै बेचिन्छन्

बदलियो मानव बेचबिखनको शैली : पहिले गाउँका सोझा महिला बेचिन्थे, अहिले सहरका टाठाबाठा सजिलै बेचिन्छन्

काठमाडौं : चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो। श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे। तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे। विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो।  

कसरी बालबच्चालाई पेटभरी खुवाउने भन्ने चिन्ताले सताइरहेको बेला एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो। विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन्। पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाए। विपनाले अनुरोध स्वीकार गरिन्। 

फेसबुकमा कुरा हुँदैजाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए। 

'घरमा पनि सधैँभरि लाउन खानकै दुःख, अरू भन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ,' विपनाले सम्झिइन्। 

फोन गर्ने मान्छेले विपनालाई भारतहुँदै कुवेत पठाइदिने भनेका थिए। विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा पाइन्। तर, एक बर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल भइन्। 
  
प्रलोभनमा पारेर भारतमा बेचिएकी विपना एक उदाहरण मात्रै हुन्। बढ्दो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेचबिखन सजिलो भएको छ। पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे। अहिले सहरका टाठाबाठा सजिलै बेचिने गरेका छन्। 

पछिल्ला पाँच वर्षयता सहरकै शिक्षित महिला बेचबिखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मानव बेचबिखन तथा ओसारपसार गर्न दलालहरूलाई सजिलो भएको छ। 

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मानव बेचबिखन रोक्न पहल गरिरहेका छन्। तर, मानव बेचबिखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने मानव बेचविखनमा पर्ने ८० प्रतिशत बढी महिला छन्। पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचविखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ। 

नेपालबाट विवाह गरेर लगेपनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ। 

वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपुर्याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ। विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकैबाट बेचिने गरेका छन्। 

पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इण्डियामार्फत जानकारी हुन आएको थियो। 

मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ। मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ। 

यस घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत उनको परिवारसँग पुनर्मिलन गराइएको छ। 

पछिल्लो समय मानव बेचबिखनको शैली परिवर्तन भएर सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै बेचबिखनको जोखिम बढेको हो। सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। 

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ। प्रविधिको विकाससँगै बढ्दो मानव बेचबिखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरूप सक्रियता देखाउनुपर्ने देखिन्छ।  

भदौ १६, २०८१ सोमबार १५:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।