धरानमा जनस्तरको पहलमा २ करोड खर्चेर हिरासत भवन बनाइयो

धरानमा जनस्तरको पहलमा २ करोड खर्चेर हिरासत भवन बनाइयो

काठमाडौं : धरान उपमहानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ। 

इलाका प्रहरी कार्यालय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो। त्यसैलाई म मध्येनजर गर्दै जनस्तरको पहलमा दुई करोड नौ लाख २६ हजार १२ खर्चेर भवन निर्माण गरिएको समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिए। 

कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमहानगरपालिकाबाट २३ लाख र प्रतिनिधि सभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट १० लाख, धरान युके समाजको १० लाख र देश विदेशमा रहेका विभिन्न संघसंस्था र दाताहरुबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको कोषाध्यक्ष राईले बताइन्। 

दुई तलाको हिरासत भवनमा आठ कोठा छन्। ती कोठामा दुई सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ।

भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मिनबहादुर सुब्बाका अनुसार भविष्यमा पाँच तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र त्यही अनुसार जग निर्माण गरिएको छ। 

भवन २०७५ सालमा प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका थिए। हाल उनी आफैँ मुख्यमन्त्री हुँदा भवनको उद्घाटन गरे। 

त्यस अवसरमा इलाका प्रहरी कार्यालय हिरासत भवनको चाबी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुलाई भवन निर्माण समितिका अध्यक्ष मिनबहादुर सुब्बाले हस्तान्तरण गरेका थिए।  

भदौ १६, २०८१ सोमबार १४:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।