गोकर्णेश्वरमा ‘पितृदेवो भव:’ (तस्बिरहरू)

गोकर्णेश्वरमा ‘पितृदेवो भव:’ (तस्बिरहरू)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन। बुवाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ। त्यस्तै आजकै दिन घर-घरमा पवित्र कुश पनि भित्र्याइन्छ।

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ।

‘पितृदेवो भव:’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ।

बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजको दिन थोरै दान गरे पनि हजारौं गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ। दान दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

भदौ १६, २०८१ सोमबार १०:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।